समचार

नेपालमा आइफोन ७ को बिक्री सुरु, कति पर्छ मूल्य ?

 
 
३ मंसिर, काठमाडौं ।
 नेपालमा आइफोन ७ र आइफोन ७ ‘प्लस’ को बिक्री वितरण सुरु भएको छ । प्रि-बुकिङ भइरहेको आइफोन ७ लाई शुक्रबार इभोस्टोरले औपचारिक रुपमा सार्वजनिक गर्दै बिक्री प्रारम्भ गरेको छ ।
 
ललितपुरको लबिम मलमा आयोजित एक कार्याक्रमकाबीच आइफोन ७ सार्वजनिक गरिएको हो । इभोस्टोरका निर्देशकद्वय तरुण बज्राचार्य, दिनेश श्रेष्ठ र लबिम मलमा अध्यक्ष नकिम उद्दिनले संयुक्त रुपमा आइफोन ७ सार्वजनिक गरे ।
 
इभो स्टोरले आजैदेखि आफ्ना ३ वटै बिक्री केन्द्रबाट आजैदेखि ग्राहकलाई आइफोन ७ को बिक्री थालेको छ । इभोस्टारले दरबारमार्गस्थित मर्कन्टाइल प्लाजा र शेर्पा मलबाट पनि आइफोन ७ को बिक्री सुरु गरेको छ ।
 
ग्राहकले किस्ताबन्दीमा पनि आइफोन किन्न सक्ने निर्देशक बज्राचार्यले जानकारी दिए । उनकाअनुसार पि्र बुकिङ अवधिमा इभोबाट झण्डै सय वटा आइफोन ७ विक्री भएका थिए ।
 
इभोस्टोरले निकट भविष्यमा नै पोखरामा पनि शो-रुम विस्तार गरेर आइफोन ७को बिक्री सुरु गर्ने जनाएको छ । नेपाली बजारमा आइफोन ७ को मूल्य ९१ हजारदेखि १ लाख ३७ हजारसम्म तय गरिएको छ ।
 
आइफोन ७ र ७ प्लस ब्ल्याक, जेट ब्ल्याक, सिल्भर, रोज गोल्ड र गोल्ड गरी पाँच रंगमा उपलब्ध छन् । यस्तै स्टोरेज क्षमताका आधारमा ३२, १२८ र २५६ गरी तीन श्रेणीका क्षमतामा दुवै सेरिजका फोन उपलब्ध छन् ।
 
कति छ मूल्य ?
 
 
आइफोनको स्टोरेज क्षमताअनुसार मूल्य फरक-फरक छ । ३२ जीबीको आइफोन ७ को मूल्य ९१ हजार पर्छ भने १२८ जीबीको आइफोन ७ को मूल्य १ लाख ५ हजार ५ सय रुपैयाँ रहेको छ । यसैगरी २५६ जीबी स्टोरेज क्षमताको मूल्य १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको छ ।
 
ठूलो आकारको आइफोन ७ प्लस भने अलिक महंगो पर्छ । ३२ जीबीको आइफोन ७ प्लसको मूल्य १ लाख ८ हजार पर्छ भने १२८ जीवीको आइफोन ७ प्लसलाई १ लाख २२ हजार ५ सय रुपैयाँ पर्छ ।
 
 
यस्तै २५६ जीवीको आइफोन ७ प्लसलाई १ लाख ३६ हजार रुपैयाँ पर्ने छ । यो मूल्य नेपाल सरकारले तोकेको १३ प्रतिशत मूल्य अभिबृद्धि कर(भ्याट)सहितको हो । आधिकारिक रुपमा बिक्रि हुने सबै आइफोनमा एक बर्षको वारेन्टीसहित भ्याट बिल दिइनेछ ।

सामाजिक संजाल