समचार

प्रथम भीमाद महोत्सव हुँदै

भीमाद, २ मंसिर
कृषि उत्पादनलाई बजार दिन र किसानलाई प्रोत्साहन गर्नका लागि पहिलो भीमाद महोत्सव हुने भएको छ । तनहुँको पुरानो बजारमध्येको भीमाद बजारमा मसिंर १० देखि १९ गतेसम्म प्रथम भीमाद महोत्सव हुन लागेको हो । 
तनहुँको दक्षिण–पूर्वी दर्जन गाविस र स्याङ्जाको चित्रे, क्याम्मी, चाङसिंह, शेखाम, साँखर, पाल्पाको रामपुर र नवलपरासीको डेडगाउँ क्षेत्रको प्रमुख बजारको रुपमा भिमाद परिचित छ । कृषि उत्पादन, संस्कृति र अन्य व्यवसायलाई प्रवद्र्धन र प्रोत्साहन गर्नका लागि पहिलो पटक तनहुँ उद्योग वाणिज्य संघ भीमाद बजार इकाइले महोत्सव गर्न लागेको बिहीबार भीमादमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
‘महोत्सवले मास, बोडी, पिडालु, सुन्तला, अदुवा लगायत यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुको बिक्री र प्रचारप्रसार गर्नेछौं,’ महोत्सवका निर्देशक हस्तबहादुर खड्काले भने, ‘कृषि प्रदर्शनी र प्रचारका लागि कुनै पनि शुल्क लिने छैनौं ।’ भिमाद आसपासको क्षेत्र अदुवा उत्पादन हुने प्रमुख ठाउँ हो । भिमाद बजारबाट मात्रै ८÷९ सय टन अदुवा उत्पादन हुने निर्देशक खड्काले जानकारी दिए । 
स्थानीय कला संस्कृति, धार्किक एवं ऐतिहासिक, पर्यटकीय क्षेत्रको पहिचान झल्काउन महोत्सवले मञ्च प्रदान गर्ने महोत्सव संयोजक भीमसिंह थापाले जानकारी दिए । विभिन्न जातजातिका सांस्कृतिक नृत्य तथा झाँकीले महोत्सवलाई मौलिकता प्रदान गर्ने थापाले विश्वस व्यक्त गरे । औद्योगिक तथा अटोमोबाइलको प्रदर्शनी तथा खपरद बिक्री, विभिन्न जातजातिका खानाका परिकार, विभिन्न पर्यटकीय तथा ऐतिहासिक ठाउँको भ्रमण तथा अवलोकन, हस्तकला प्रदर्शनी, विभिन्न कलाकारका सांगीतिक कार्यक्रमको आकर्षण छन् । भानुमति–८ मा रहेको धन्दुरको सिद्धगुफा, चमेरे गुफाको अवलोकन, माझकोट–९ मिर्छुलुङको होम स्टे, भीमाद–२ को स्थानीय कालिगडद्वारा निर्मित पुरातात्विक फलामे साङ्ले पूल, शिव पञ्चालन मन्दिरलाई महोत्सवले प्रवद्र्धन र प्रचारमा सहयोग गर्ने प्रचारप्रसार संयोजक दयानिधि पौडेलले जानकारी दिए ।
महोत्सवमा ४ करोड रुपैयाँको कारोबार गर्ने महोत्सव मूल आयोजक समितिका सदस्य तथा वाणिज्य संघका कोषाध्यक्ष चतुरर्भुज सुवेदीले जानकारी दिए । महोत्सवको प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको छ । महोत्सवका लागि एक मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सवको एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । पत्रकार सम्मेलनमा गाविस सचिव दधिराज पौडेल र नेपाल आदीवासी जनजाति महासंघ गाउँ समन्वय  परिषद्का अध्यक्ष उमाकान्त श्रेष्ठले पनि महोत्सवको बारेमा जानकारी गराएका थिए । 
 

सामाजिक संजाल