समचार

अन्तर्राष्ट्रिय युवा सम्मेलनमा सहभागी हुन नेपाली टोली ढाका प्रस्थान

पोखरा, मंसिर ०२
 
‘दिगो युवा विकासका लागि दक्ष युवाशक्ति’ भन्ने नाराका साथ बंगलादेशको राजधानी ढाकामा सम्पन्न हुन लागेको अन्तर्राष्ट्रिय युवा सम्मेलनमा सहभागी हुन १४ सदस्यीय टोली बिहिबार ढाका प्रस्थान गरेको छ । बिहिबारदेखि ३ दिनसम्म जारी रहने सम्मेलनमा सहभागी हुने नेपाली टोलीलाई काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच राष्ट्रिय युवा परिषदका केन्द्रीय उपाध्यक्ष माधव ढुंगेलले विदाई गरेका थिए ।
 
विदाई कार्यक्रममा बोल्दै ढुंगेलले सगरमाथा र गौैतम बुद्धको भरमा मात्र नेपालको गौरव जोडिने अवस्थाको अन्त्य युवाहरुले मात्र गर्न सक्नेमा जोड दिए । नेशनल एकेडेमी अफ मेडिकल साइन्सेस (न्याम्स) कलेज, काठमाडौंमा आयोजित कार्यक्रममा उनले अगाडी भने,“उर्जा र कृषि मार्फत देशको विकास गर्न सके सस्तो श्रम बेचेर गुजारा गर्ने युगको अन्त्य हुन्छ ।”
 
त्यसै गरी सम्मेलनमा सहभागी नेपाली टोलीका प्रमुख सुवास मल्लले सम्मेलनमार्फत नेपाल जस्ता अल्पविकशित देशका युवाहरुको साझा समस्याहरुमा छलफल गरी समाधानको बाटो खोज्ने बताए । त्यसै गरी कलेजका प्रशासकिय प्रमुख खड्ग प्रसाद अधिकारीले पनि आफ्नो भनाई राखेका थिए । विदाई कार्यक्रम कलेजका स्ववियु सभापति रमेश सिंहको सभाध्यक्षता तथा सचिव नारायण डाँगीको सञ्चालनमा सम्पन्न भएको थियो ।
 
सम्मेलनमा सहभागी हुनका लागि सुवास मल्लको नेतृत्वमा गोविन्द गिरी, शकुन्तला शर्मा, विश्वदर्शन पराजुली, अमृत सुवेदी, दुर्गाराज पाण्डे र प्रभा भुजेलले सहभागिता जनाउनेछन् । त्यसै गरी उक्त सम्मेलनमा सुजन पौडेल, भानु पौडेल, रमेश सिंह, रविन्द्रराज पौडेल, दीपक तिवारी, धर्मदत्त पौडेल र पोमलाल गिरी पनि सहभागी हुने आयोजकहरुले जनाएका छन् ।
 
उक्त अवसरमा नेपालजस्ता अल्पविकशित तथा विकाशशिल देशहरुमा व्याप्त युवा रोजगारीको समस्या, समाधान तथा विदेश पलायनका विविध आयामहरुको बारेमा छलफल हुनेछ । कार्यक्रमका विभिन्न सत्रहरुमा बेरोजगारी, युवा नेतृत्व विकास, युवा सशक्तिकरण, स्वयंसेवा तथा दक्ष रोजगारी लगायतका विषयहरुमा छलफल गरिने छ । तीन दिन सम्म चल्ने उक्त सम्मेलनमा नेपालसहित १५ बढी राष्ट्रका करिब ५०० युवा प्रतिनिधीहरुले भाग लिने छन् । 
 
बंगलादेशका विभिन्न संस्थाहरु स्टेप अप फाउण्डेसन, लाइफ एण्ड स्किल डेभलोप्मेण्ट क्लब, होप’८७ तथा न्युजिल्याण्डका संस्थाहरु बाज्डा र लाइफ स्किल कोचिङ्गको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा नेपाली टोलीको व्यवस्थापन पोखराको गुरुचेला एजुकेशनले गरेको हो ।
 
 
 

सामाजिक संजाल