समचार

लायन्स क्याबिनेट मिटिङको तयारी

पोखरा १ मंसिर
 
लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३ सय २५ बी १ नेपालको दोस्रो क्याबिनेट बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । 
 
स्थानीय लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीको व्यवस्थापनमा बैठक मंसिर ३ गते शुक्रबार पोखरा सभागृहमा बस्नेछ । बैठकमा डिस्ट्रिकले अगाडि सारेका परियोजनाहरु क्लब स्तरमा लागु गर्न र  क्लबहरुले सम्पादन गरेका कार्यक्रमको समीक्षा हुने प्रथम भाइस डिस्ट्रिक गभर्नर धनराज आचार्यले जानकारी दिए । ‘भौगोलिक रुपमा १६ जिल्लाका २ सय ९० क्लब समावेश रहेको डिस्ट्रिकका ७ हजार सदस्यहरु मध्ये ७ सय जनाको क्याबिनेट हुन्छ,’ उनले भने,‘ पहिलो चरणमा क्याबिनेट सदस्यहरुको बैठक न्यु एरा पार्टी प्यालेसमा बसेपछि दोस्रो चरणका खुल्ला बैठक सभागृहमा बस्ने छ ।’ 
 
आचार्यले बैठकमा क्लब तथा जोनबाट आएका परियोजनाहरुलाई पारित गरिने बताए । उनले यो वर्ष लेखनाथ सामुदायिक लायन्स अस्पतालको महिला र बाल वार्डको समग्री खरिद गर्न १ लाख डलरको सहयोग स्वीकृत भएको जानकारी दिए ।  सिर्जना चौतारीका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक वसन्त गिरीका अनुसार बैठकमा करिब २ हजार २ सय लायन्सहरुको सहभागिता हुने छ ।  अहिले सम्म १ हजार ८ सय लायन्सहरुले रजिस्ट्रेसन गराइसकेको अध्यक्ष गिरीले बताए । कार्यक्रम सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । उनले रजिस्ट्रेसनबाट २२ लाख रुपैयाँ र अन्य सहयोगबाट ३ लाख रुपैयाँ आम्दानी हुने बताए । 
 
लायन्स क्लब अन्तर्राष्ट्रिय डाइरेक्टर सञ्जय खेतानसहित अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लायन्स नेताहरुको बैठकमा सहभागिता रहने छ । पोखरामा ९३ लायन्स क्लबहरु सक्रिय छन् । लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका संस्थापक अध्यक्ष बालकृष्ण बराल, सचिव जीवन गोर्खालीले पोखराको पर्यटन प्रर्वद्धनमा कार्यक्रमले टेवा पुग्ने बताए । 
 

सामाजिक संजाल