समचार

एएफसी सोलिडारिटी कपको उपाधि नेपाललाई

 
 
कार्तिक ३०, २०७३-
नेपाली राष्ट्रिय फुटबल टिमले फाइनलमा मंगलबार मकाउलाई १–० ले हराएर मलेसियाको कुचिङमा भएको एएफसी सोलडारिटी कपको उपाधि जितेको छ । महादेशीय प्रतियोगितामा नेपाल च्याम्पियन भएको यो नै पहिलो हो ।
 
विश्वकप २०१८/एसियन कप २०१९ को छनोटबाट बाहिरिएका देशहरुका लागि एसियाली फुटबल महासंघ (एएफसी) द्वारा आयोजित सोलिडारिटी कप नेपाली टिमले ११ महिनायता जितेको लगातार तेस्रो उपाधि हो । जनवरी, २०१६ मा राष्ट्रिय टिमले बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो भने नेपालको यू–२३ ले फेब्रुअरीमा गुवहाटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक हात पारेको थियो ।
 
सरावक स्टेडियममा सुजल श्रेष्ठले २९ औं मिनेटमा गोल गरे । पेनाल्टी क्षेत्रमा ‘अनमार्क’ रहेका मिहिनेतसाथ भरत खवासले क्रस गरेको बललाई उनले हेडद्वारा पोष्टको दिशा दिएका थिए ।
 
खेलमा अधिकांश समय नेपालले बल नियन्त्रणमा राख्यो । सनरन्तर आक्रमण पनि गर्‍यो । तर, थप गोल भने गर्न सकेन । भरत खवासले १४ औं मिनेटमा सेकेन्ड बार च्याप्दै प्रहार गरेको बल नजिकबाट बाहिरिएको थियो । अन्जन विष्टले २८ औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट सशक्त रुपमा प्रहार गरेको बललाई मकाउका गोलपिकरले बाहिर फाले ।
 
पहिलो हाफको इन्ज्युरी टाइममा नेपालले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो । विक्रम लामाले ‘सिक्स यार्ड बक्स’बाट हेडद्वारा प्रहार गरेको बल पोष्टबमाथिबाट बाहिरिएको थियो ।
 
 

सामाजिक संजाल